नागरिक सुरक्षा प्रहरीको पहिलो दायित्वः एआइजी कार्की
काठमाडौँ।काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीले नागरिकको जीउ–धनको सुरक्षा नै प्रहरीको पहिलो दायित्व भएको बताएका छन्।
ट्राफिक प्रहरी कार्यालय, काठमाडौँले शुभ दीपावली र छठ पर्व–२०८२ को अवसरमा आयोजना गरेको सङ्गीतिक तथा ट्राफिक सचेतना कार्यक्रममा बोल्दै एआइजी कार्कीले प्रहरी २४ घण्टा जनताको सुरक्षामा खटिएको बताएका हुन्।
उनका अनुसार, “प्रहरी नागरिकको सुख–दुःखका हरेक क्षणमा साथ दिने संस्था हो। हामीले नागरिकको सुरक्षालाई सधैँ पहिलो प्राथमिकतामा राखेका छौँ।”
एआइजी कार्कीले चाडपर्वका बेला बढ्ने भीडभाड, सवारी चाप, मादक पदार्थको दुरुपयोग र आपराधिक गतिविधि नियन्त्रणमा प्रहरीले थप सतर्कता अपनाएको बताए। उनले जनतालाई शान्तिपूर्ण, संयमित र पारिवारिक वातावरणमा चाडपर्व मनाउन आग्रह गर्दै मादक पदार्थ सेवनबाट टाढा रहन र ट्राफिक नियम पालना गर्न अनुरोध गरे।
उनले थपे, “समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न प्रहरी सधैं नागरिकसँगै छ। सहयोगी नागरिक बनेर मात्र हामीले सुरक्षित र सभ्य समाज निर्माण गर्न सक्छौं।”












