हङकङ विमानस्थलमा कार्गो विमान दुर्घटना, दुई जनाको मृत्यु
हङकङ-हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान एउटा कार्गो विमान धावनमार्गबाट चिप्लिएर समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ। स्थानीय मिडियाका अनुसार मृतक दुवै जना विमानस्थलका ग्राउन्ड स्टाफ हुन्।
दुर्घटना स्थानीय समय अनुसार बिहान करिब ३:४० बजे भएको हो। दुबईबाट हङकङ आउँदै गरेको एमिरेट्सको कार्गो उडान ईके९७८८, जुन टर्किस कार्गो एयरलाइन्स एयर एसीटी द्वारा सञ्चालित बोइङ ७४७-४८१ विमान थियो, अवतरणका क्रममा ग्राउन्ड स्टाफको सवारीसँग ठोक्किएको बताइएको छ। ठक्करपछि विमान धावनमार्गबाट चिप्लिएर समुद्रमा खसेको हो।
विमानमा रहेका चारै जना चालक दलका सदस्यहरू सकुशल बाँचेका छन् र उनीहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको छ। दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको बताइएको छ।
विमानस्थल प्राधिकरणले सोमबार बिहान १०:०० बजे पत्रकार सम्मेलन गरी घटनाबारे थप जानकारी सार्वजनिक गर्ने जनाएको छ।












