बिवाइडीले उत्पादन गर्यो १ करोड ४० लाख गाडी,ब्राजिलका राष्ट्रपतिलाई हस्तान्तरण
काठमाडौं।चिनियाँ अटो निर्माता कम्पनी बिवाइडी (BYD) ले आफ्नो १ करोड ४० लाख गाडी उत्पादन गरेको घोषणा गरेको छ। यो उपलब्धि मनाउन कम्पनीले ब्राजिलको बाहिया राज्यको कामाकारी शहरस्थित उत्पादन केन्द्रमा विशेष समारोह आयोजना गरेको हो।
समारोहमा उत्पादन गरिएको ‘सङ प्रो (Song Pro)’ नामक प्लग–इन हाइब्रिड कार ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई विशेष रूपमा हस्तान्तरण गरिएको थियो।
बिवाइडीका अनुसार यो उपलब्धि कम्पनीको अन्तर्राष्ट्रिय विस्तार यात्रामा ऐतिहासिक माइलस्टोन हो। कामाकारीस्थित यो कारखाना एशियाबाहिरको सबैभन्दा ठूलो बिवाइडी उत्पादन केन्द्र हो, जसमा करिब ५.५ अर्ब ब्राजिलियन रियाल (९७८ मिलियन अमेरिकी डलर) लगानी गरिएको छ।
कार्यक्रममा ब्राजिलका उपराष्ट्रपति जेराल्डो आल्कमिन, ब्राजिलस्थित चिनियाँ राजदूत झु छिङछियाओ, राज्य तथा स्थानीय अधिकारीहरू, र बिवाइडीका अध्यक्ष वाङ छुआनफु लगायतका विशिष्ट अतिथिहरू सहभागी थिए।
राष्ट्रपति लुलाले भने,
“चीन पछिल्ला १५ वर्षदेखि ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। हामी एकअर्कालाई ग्लोबल साउथका महत्वपूर्ण साझेदारका रूपमा हेर्छौं।”
त्यसैगरी, बिवाइडी अध्यक्ष वाङ छुआनफुले भने,
“हामी ब्राजिलमा ११ वर्षदेखि सक्रिय छौं। यहाँ बिवाइडीका विद्युतीय बसहरू सामान्य दृश्य बनेका छन्, र अहिले हामी बजारका अग्रणी विक्रेता हौं।”
बिवाइडीले यो उपलब्धिलाई आफ्नो वैश्विकरण अभियानको नयाँ अध्यायका रूपमा लिएको छ। कम्पनीले स्थानीय उत्पादन संयन्त्र सुदृढ गर्दै विद्युतीकरण (electrification), नवप्रवर्तन (innovation) र दिगोपन (sustainability) का दिशामा उद्योग रूपान्तरणलाई गति दिने घोषणा गरेको छ।
हालसम्म बिवाइडीका छवटा विदेशी कारखाना ब्राजिल, थाइल्याण्ड, हंगेरी, उज्बेकिस्तान, मलेसिया र कम्बोडियामा सञ्चालनमा छन्।
ब्राजिलमा मात्रै कम्पनीले तीन वर्षभित्र १ लाख ७० हजारभन्दा बढी सवारी बिक्री गरिसकेको छ।
२०२५ सेप्टेम्बर महिनामा मात्र १० हजारभन्दा बढी गाडी बिक्री भएको र यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म ७७ हजारभन्दा बढी बिक्री भएको बिवाइडीले जनाएको छ।












