ग्राण्डी इन्टरनेशनल अस्पताललाई विश्व स्ट्रोक सङ्गठनबाट “एडभान्स्ड स्ट्रोक सेन्टर”मान्यता,नेपालकै पहिलो अस्पताल – Sagarmathapana:: Online News Portal

ग्राण्डी इन्टरनेशनल अस्पताललाई विश्व स्ट्रोक सङ्गठनबाट “एडभान्स्ड स्ट्रोक सेन्टर”मान्यता,नेपालकै पहिलो अस्पताल

   २०८२ कार्तिक २ गते  

काठमाडौँ-ग्राण्डी इन्टरनेशनल अस्पताल (GIH) ले नेपालकै इतिहासमा पहिलोपटक विश्व स्ट्रोक सङ्गठन (World Stroke Organization-WSO) बाट “एडभान्स्ड स्ट्रोक सेन्टर” को मान्यता प्राप्त गरेको छ।यो प्रतिष्ठित मान्यता सन् २०२५ अक्टोबर १७ देखि २०२८ अक्टोबर १६ सम्मका लागि मान्य हुनेछ।

यस मान्यतासँगै ग्राण्डी इन्टरनेशनल अस्पताल अब विश्वका ती उत्कृष्ट स्वास्थ्य संस्थामध्ये पर्छ, जसले स्ट्रोक उपचारका लागि विश्वस्तरका मापदण्डहरू पूरा गरेका छन्।

ग्राण्डी अस्पतालका कन्सल्टेन्ट न्युरोलोजिष्ट तथा स्ट्रोक कार्यक्रम निर्देशक डा. राजु पौडेल का अनुसार, “यो मान्यता हाम्रो समर्पण र प्रतिबद्धताको प्रमाण हो — नेपाली जनतालाई विश्वस्तरको स्ट्रोक उपचार सेवामा पहुँच दिलाउने हाम्रो लक्ष्य यसले थप दृढ बनाएको छ। नेपालमा प्रत्येक १० मिनेटमा एकजनालाई स्ट्रोक हुने तथ्यलाई ध्यानमा राख्दै, हाम्रो टोलीले तीव्र, समग्र र प्रमाणित उपचार उपलब्ध गराउने प्रण गरेको छ।”

अन्तर्राष्ट्रिय स्तरको उपचार क्षमता

विश्व स्ट्रोक सङ्गठनले दिएको “एडभान्स्ड स्ट्रोक सेन्टर” को मान्यताले अस्पतालमा निम्न क्षमता र सेवाहरू रहेको पुष्टि गर्छः

२४ घण्टा विशेषज्ञ सेवा: न्युरोलोजिष्ट, न्युरोसर्जन, इन्टरभेन्सनल रेडियोलोजिष्ट, इमर्जेन्सी चिकित्सक, इन्टेन्सिभिस्ट र स्ट्रोक नर्स तथा थेरापिस्टहरूको समर्पित टोली।

तात्कालिक उपचार सुविधा: थ्रोम्बोलाइटिक औषधि तथा मेकानिकल थ्रोम्बेक्टोमीजस्ता समयसंवेदनशील उपचार तुरुन्त उपलब्ध।

उन्नत उपकरण र सेवा: अत्याधुनिक न्युरोइमेजिङ, निदान सेवा र प्रमाणित उपचार प्रोटोकलहरूको प्रयोग।

सम्पूर्ण पुनर्स्थापना कार्यक्रम: पुनर्स्थापना (rehabilitation) सेवा र अन्तर्राष्ट्रिय ResQ registry मार्फत निरन्तर गुणस्तर मूल्याङ्कन।

“स्ट्रोक उपचारमा हरेक मिनेट मूल्यवान् हुन्छ,” ग्राण्डीका न्युरोइन्टरभेन्सन रेडियोलोजिष्ट डा. सुभास फुयाल ले भने, “अब नेपालकै बिरामीहरूले विश्वस्तरको स्ट्रोक उपचारका लागि विदेश जानु नपर्ने अवस्था बनेको छ। हाम्रो टोलीले एन्युरिज्मको कोइलिङ, स्टेन्टिङ र एभीएम (AVM) उपचारजस्ता जटिल न्युरोइन्टरभेन्सन पनि गर्न सक्छ।”


कडा मूल्याङ्कनपछि प्राप्त मान्यता

यो मान्यता प्राप्त गर्न अस्पतालले संरचना, उपचार प्रोटोकल र बिरामी परिणामहरूको विस्तृत मूल्याङ्कन पार गरेको थियो। मूल्याङ्कन टोलीमा डा. डिएर्ड्रे डी. सिल्भा (सेक्रेटरी, WSO; कन्सल्टेन्ट न्युरोलोजिष्ट, नेशनल न्युरोसायन्स इन्स्टिच्युट सिङ्गापुर) र रुपल सेदानी (ग्लोबल सर्टिफिकेशन लिड, WSO) सहभागी थिए।

मान्यता प्रमाणपत्र WSO अध्यक्ष डा. जेयराज डी. पाण्डियन, पूर्वअध्यक्ष डा. शिला मार्टिन्स, र कोषाध्यक्ष डा. भ्यालेरिया कासो द्वारा प्रदान गरिएको थियो।

ग्राण्डी अस्पतालका निर्देशक डा. बिनोद बिजुक्छे ले भने,“यो उपलब्धिले नेपालमा न्युरोलोजिकल सेवाको स्तरलाई नयाँ उचाइमा पुर्‍याएको छ। ग्राण्डी अस्पतालले विश्वस्तरको उपचार र सेवा निरन्तर प्रदान गर्न प्रतिबद्ध छ।”

यस मान्यतासँगै,ग्राण्डी इन्टरनेशनल अस्पताल नेपालकै पहिलो र एकमात्र अस्पताल बनेको छ जसले विश्व स्ट्रोक सङ्गठनबाट “एडभान्स्ड स्ट्रोक सेन्टर” मान्यता प्राप्त गरेको छ।यसले अस्पताललाई क्षेत्रीय स्तरमा नै स्ट्रोक उपचार र न्युरोलोजिकल केयरको अग्रणी संस्थाको रूपमा स्थापित गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै