सुदन गुरुङको प्रश्न:“विद्यार्थीमाथि गोली चल्दा विद्यार्थी संगठन कहाँ थिए?” – Sagarmathapana:: Online News Portal

सुदन गुरुङको प्रश्न:“विद्यार्थीमाथि गोली चल्दा विद्यार्थी संगठन कहाँ थिए?”

   २०८२ आश्विन २९ गते  

काठमाडौं।हामी नेपाल’ का संस्थापक सुदन गुरुङले जेनजी आन्दोलनका क्रममा विद्यार्थी र युवामाथि अन्धाधुन्ध गोली चलाउँदा राजनीतिक दलसम्बद्ध विद्यार्थी र युवा संगठनहरू किन मौन बसेका थिए भनेर कडा प्रश्न उठाएका छन्।

मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्  “आफ्नो देशमा सुशासन र राम्रो शासन व्यवस्था स्थापनाको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थी र युवामाथि जब अन्धाधुन्ध गोली वर्षाइयो, त्यतिबेला विद्यार्थीका नाममा खुलेका संगठनका हर्ताकर्ता कहाँ हराए?”

उनका अनुसार, ७५ जना विद्यार्थी र युवाहरूको ज्यान जाने गरी भएको हिंसात्मक दमनमा पनि राजनीतिक दलका विद्यार्थी संगठनहरूले मौनता साँध्नु प्रश्नवाचक छ। उनले थप लेखेका छन् — “आज त्यही विद्यार्थी र युवा संगठनका नेताहरू, जसले आन्दोलनका सहिदहरूको पक्षमा उभिन सकेनन्, उल्टै गोली चलाउने आदेश दिने नेताहरूको बचाउमा निर्लज्ज रूपमा उत्रिएका छन्।”

भदौ २४ गतेको घटनापछि एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघले तोडफोड र आगजनीमा संलग्न भएको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका थिए। सो घटनालाई लिएर सुदनले टिप्पणी गर्दै भनेका छन् “अबोध बालबालिकामाथि गोली चलाउँदा चुप लाग्नेहरू आज कसको हितमा खुलेका हुन् भन्ने अब प्रष्ट भएको छ।”

गुरुङले अन्त्यमा आव्हान गरेका छन् “भोलि विद्यार्थी र युवामाझ राजनीति गर्न जाँदा सबैले सोधौँ हाम्रा साथीहरू सहिद हुँदै गर्दा तपाईंहरू कुन नेताको चाकरी गर्दै हुनुहुन्थ्यो?”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै