राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले पाँच महत्वपूर्ण निर्णय गर्दै आगामी चुनावी तयारी तीव्र बनायो
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पन्न पार्टी सचिवालय बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीदेखि लिएर वृहत्तर राजनीतिक सहकार्यसम्मका विषयमा पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कात्तिक १५ भित्र उम्मेदवारी आव्हान गर्ने तयारी थाल्ने निर्णय गरेको छ।
त्यस्तै, वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि उच्चस्तरीय संवाद समिति गठन गर्ने निर्णय गरिएको छ। उक्त समितिको संयोजन पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले गर्ने भएका छन्।
बैठकले पार्टीको केन्द्रीय सल्लाहकार परिषद्मा पाँच जना व्यक्तित्वहरूलाई मनोनयन गरेको छः
•वरिष्ठ अधिवक्ता एवं राजनीतिज्ञ श्री जगन्नाथ पौडेल (चितवन)
•सर्वाङ्गीण विकास एवं सरसफाई विज्ञ श्री नमस्तेलाल भूमि (तनहुँ)
•समाजसेवी एवं पूर्व लायन्स गभर्नर शोभा जोशी बिजुक्छे (ललितपुर)
•जलस्रोत तथा सिंचाइ विज्ञ इन्जिनियर बुद्धिलाल विश्वकर्मा (सप्तरी)
•पूर्व क्याम्पस प्रमुख श्री जय किशोर लाल (महोत्तरी)
यसबाहेक, पार्टीले केन्द्रीय समितिको विस्तारित बैठक आगामी कार्तिक १४ र १५ गते चितवनमा आयोजना गर्ने भएको छ। सो बैठकको व्यवस्थापन समितिको संयोजकत्व केन्द्रीय सदस्य एवं पूर्व सांसद हरि ढकालले गर्नेछन्।
साथै, हालै देशका विभिन्न स्थानमा आएको जलजन्य विपद्का बेला रास्वपाका कार्यकर्ताद्वारा गरिएको उद्धार र राहतकार्यको प्रशंसा गर्दै, पार्टी केन्द्रबाट पनि राहत कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सक्दो सहयोग गर्ने निर्णय गरिएको छ।
रास्वपाले यी निर्णयहरूलाई आगामी राजनीतिक, संगठनात्मक र जनसेवामुखी अभियानका आधारस्तम्भका रूपमा लिने जनाएको छ।













