सेनाले उद्धार गरेको होइन,म आफैं पुगेको हुँ’-प्रचण्डको जेनजी आन्दोलनबारे स्पष्टोक्ति – Sagarmathapana:: Online News Portal

सेनाले उद्धार गरेको होइन,म आफैं पुगेको हुँ’-प्रचण्डको जेनजी आन्दोलनबारे स्पष्टोक्ति

   २०८२ आश्विन २५ गते  

काठमाडौं-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आफूलाई सेनाले उद्धार गरेको भन्ने चर्चाबारे स्पष्ट प्रतिक्रिया दिएका छन्। उनले ती सबै हल्ला असत्य भएको दाबी गर्दै भनेका छन्— “मलाई सेनाले लगेको होइन, म आफैं सम्पर्क गरेर पुगेको हुँ।”

शुक्रबार माओवादी कार्यकर्तासँगको कार्यक्रममा बोल्दै प्रचण्डले भने, “अरु नेताहरूलाई सेनाले समातेर सुरक्षित राख्ने काम भयो, प्रधानमन्त्रीलाई त हेलिकोप्टरले उद्धार गर्‍यो।ममात्रै त्यस्तो भएँ, मलाई कसैले लगेको पनि होइन, कसैले बोलाएको पनि होइन।”

उनका अनुसार, जेनजी आन्दोलनका ती तनावपूर्ण दिनमा उनी सिंहदरबारमै रहेका थिए। “सुरक्षा फोर्सले बाहिर जान नहुने भनेपछि मैले प्रधान सेनापतिसँग आफैं सम्पर्क गरेर पुगेको हुँ,” प्रचण्डले स्पष्ट पारे।

त्यो समयमा राष्ट्रपतिसँग निरन्तर छलफल भएको उनले स्मरण गरे। “प्रधान सेनापतिले नै राष्ट्रपतिलाई बोलाएर हामीले रातभर छलफल गरेका थियौं,” उनले बताए।

भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा राजधानीका विभिन्न स्थानमा तोडफोड, आगजनी र हिंसात्मक घटना भएका थिए। त्यसपछि केही शीर्ष नेताहरूलाई सेनाले हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा लगिएको खबर सार्वजनिक भएको थियो। तर प्रचण्डले ती भनाइहरूलाई “पूर्णतः निराधार” भन्दै अस्वीकार गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै