कोशी प्रदेश सरकारले बाढीपहिरो पीडितका सबै घर पुनर्निर्माण गर्ने
बिराटनगर।हालै आएको बाढीपहिरोले कोशी प्रदेशका विभिन्न जिल्लामा भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गर्ने निर्णय प्रदेश सरकारले गरेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधवार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले प्रभावित परिवारका लागि पूर्ण घर पुनर्निर्माण कार्यक्रम अघि बढाउने निर्णय गरेको हो।
बैठकले विपद्बाट सबैभन्दा बढी प्रभावित इलाम, झापा र मोरङ जिल्लालाई पहिलो चरणमा पुनर्निर्माण कार्य सुरु गर्ने जनाएको छ। प्रदेश सरकारले प्रभावित घरहरूको विस्तृत विवरण संकलन गर्दै तत्काल निर्माण कार्य अगाडि बढाउने योजना बनाएको छ।
मुख्यमन्त्री कार्कीले बैठकपछि भने, “कोशी प्रदेशका कुनै पनि नागरिक घरविहीन रहँदैनन्।सरकार पुनर्निर्माणमा सबै स्रोत र साधन परिचालन गर्न तयार छ।”
प्रदेश सरकारले पुनर्निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्ने र स्थानीय तहसँग समन्वय गरी निर्माण कार्यलाई तीव्रता दिने बताएको छ।












