इलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सुहाङ नेम्बाङको माग,सुकिलुम्बाबाट नियमित हवाई उडानको आग्रह
इलाम।नेकपा एमाले संसद सदस्य सुहाङ नेम्बाङले अविरल वर्षाबाट इलाम जिल्लामा उत्पन्न विध्वंसकारी अवस्थालाई मध्यनजर गर्दै इलामलाई तत्काल “संकटग्रस्त क्षेत्र” घोषणा गर्न सरकारसँग माग गरेका छन्। उनले सोसँगै फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमार्फत नियमित हवाई उडान सञ्चालन गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
नेम्बाङले आफ्नो फेसबुकमार्फत लेख्दै भनेका छन्, “अविरल वर्षाका कारण इलाममा व्यापक जनधनको क्षति, सडक अवरुद्ध, विद्युत् आपूर्तिमा अवरोध र जनजीवन पूर्णरूपमा अस्तव्यस्त भएको छ। पहिरो र सम्पर्क विच्छेदका कारण राहत तथा उद्धार कार्यमा गम्भीर चुनौती उत्पन्न भएको छ।”
उनका अनुसार जिल्ला विपद व्यवस्थापन समितिको निर्णय र सिफारिसको आधारमा इलामलाई तत्काल संकटग्रस्त क्षेत्रको सूचीमा राख्नु अत्यावश्यक भएको छ।
नेता नेम्बाङले थपे, “सडक अवरुद्ध र भौगोलिक कठिनाइका कारण राहत सामग्री, औषधि र जनसञ्चार अवरुद्ध भइरहेकाले सुकिलुम्बा विमानस्थलबाट नियमित हवाई उडान सञ्चालन गर्नुपर्छ।”
इलाममा हाल निरन्तर वर्षा र पहिरोका कारण दर्जनौँ सडक खण्ड अवरुद्ध भएका छन् भने विद्युत् आपूर्तिमा पनि अवरोध भइरहेको स्थानीय प्रशासनले जनाएको छ। राहत र उद्धार कार्य कठिन बनेपछि सांसद नेम्बाङको मागलाई स्थानीयवासीले समेत समर्थन जनाएका छन्।












