जनतासँग, प्रतिनिधिको हिसाबकिताब’ कार्यक्रम बर्दियामा सम्पन्न – Sagarmathapana:: Online News Portal

जनतासँग, प्रतिनिधिको हिसाबकिताब’ कार्यक्रम बर्दियामा सम्पन्न

   २०८२ आश्विन २२ गते  

बर्दिया- स्वतन्त्र युवा संजाल बर्दियाको संयोजनमा आयोजित ‘जनतासँग, प्रतिनिधिको हिसाबकिताब’ कार्यक्रम गुलरिया नगरपालिका–स्थित जी.वि.स. सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा पूर्वमन्त्री तथा सांसद माननीय अब्दुल खान प्रमुख अतिथि रहनुभएको थियो।

बर्दियाका सचेत नागरिक, सामाजिक अगुवा, युवा तथा विभिन्न समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त कार्यक्रमले स्थानीयस्तरमा उत्तरदायी नेतृत्व र पारदर्शिता प्रवर्द्धन गर्ने ऐतिहासिक पहलका रूपमा प्रशंसा बटुलेको छ।

कार्यक्रममा प्रमुख अतिथि अब्दुल खानले संसद, मन्त्री तथा सभापतिका रूपमा कार्यरत रहँदा ३२ महिना २० दिनको कार्यकालमा सम्पन्न गरेका कामहरूको विस्तृत विवरण सार्वजनिक गर्नुभयो। उहाँले बर्दियाको विकासका प्राथमिकता र जनताको अपेक्षालाई सरकारसम्म पुर्‍याउने प्रयासको समग्र प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

स्थानीय सामाजिक अगुवा र सहभागीहरूले बर्दियाको इतिहासमै पहिलो पटक कुनै जनप्रतिनिधिले आफ्नो कार्यकालको सम्पूर्ण लेखाजोखा जनतासमक्ष प्रस्तुत गरेको भन्दै उक्त कदमलाई उदाहरणीय भनेका छन्।

विभिन्न समुदाय — ब्राह्मण, लोध, वर्मा, मुस्लिम, यादव, थारू, दलित तथा पहाडी — का प्रतिनिधिहरूले पनि अब्दुल खानको नेतृत्व, पहल र निष्ठालाई पारदर्शी, जनमुखी र जिम्मेवार राजनीतिका उदाहरणका रूपमा प्रशंसा गरेका थिए।

कार्यक्रमका वक्ताहरूले सामाजिक एकता, जवाफदेही शासन र सहकार्यमा आधारित नेतृत्वद्वारा मात्रै समृद्ध नेपाल निर्माण सम्भव हुने उल्लेख गर्दै युवा नेता अब्दुल खानको नेतृत्वप्रति विश्वास र समर्थन व्यक्त गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै