काठमाडौंमा आजदेखि सरकारी कार्यालय सञ्चालन हुने
काठमाडौं।जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (सोमबार)का लागि दिइएको सार्वजनिक बिदा खारेज गरेको छ। अब काठमाडौंका सबै सरकारी कार्यालय, संस्थान तथा स्थानीय तहहरू बिहान १० बजेबाट नियमित रूपमा सञ्चालन हुने भएका छन्।
विगत दुई दिनदेखि लगातार परेको वर्षाका कारण काठमाडौं प्रवेश मार्गहरू अवरुद्ध भएपछि असोज १९ र २० गते दुई दिनका लागि सार्वजनिक बिदा घोषणा गरिएको थियो। तर, मौसममा सुधार आएपछि प्रशासनले आजबाट कार्यालयहरू खुला गर्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयले आइतबार राति जारी गरेको सूचनामा भनिएको छ,
“मौसममा सुधार भएको र जोखिमको अवस्था टरीसकेको हुँदा असोज २० गते सोमबार बिहान १० बजेबाट काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न अनुरोध गरिन्छ।”
यसअघि सरकारले असोज २० गतेसम्म बिदा दिने निर्णय गरेको थियो। तर, गृह मन्त्रालयले विपद् जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष संलग्न नभएका जिल्लाहरूमा सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएपछि काठमाडौं प्रशासनले पनि नयाँ निर्णय गरेको हो।
यससँगै आजदेखि काठमाडौंका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरू पुनः नियमित रूपमा सञ्चालनमा आएका छन्।













