महेश बस्नेतको आपत्ति :“अनाधिकृत व्यक्तिको निर्देशन लोकतन्त्रको अपमान”
काठमाडौं।नेकपा (एमाले)का नेता महेश बस्नेतले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA)को बैठकमा कुनै औपचारिक जिम्मेवारी नभएका व्यक्तिको सहभागिता र निर्देशनात्मक भूमिकामाथि तीव्र आपत्ति जनाएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै बस्नेतले भनेका छन्, “राष्ट्रको संवेदनशील निकायमा बिना पद, बिना अधिकार पुगेको व्यक्तिले निर्देशन दिएको दृश्य हेर्दा साँच्चै अचम्म लाग्यो। यस्तो कार्य कुन लोकतन्त्र हो?”
बस्नेतको अभिव्यक्ति हालै जेन–जी आन्दोलनका नेता सुदन गुरुङको प्राधिकरणको बैठकमा उपस्थिती र निर्देशनात्मक भनाइसँग जोडिएको देखिन्छ। केही दिनअघि गुरुङले उद्धार, राहत तथा एम्बुलेन्स व्यवस्थापनसम्बन्धी निर्देशन दिँदै गरेको भिडियो सार्वजनिक भएपछि यसको संवैधानिक वैधता र प्रशासनिक मर्यामाथि प्रश्न उठेको थियो।
बस्नेतले भनेका छन्, “राज्यको संयन्त्र, नीति र निर्णय गर्ने अधिकार कानुनी रूपमा तोकिएका जिम्मेवार व्यक्तिहरूमा मात्र सीमित रहनुपर्छ। आन्दोलनको नाममा सरकारी संयन्त्रमा हस्तक्षेप गर्नु लोकतान्त्रिक मूल्य र प्रशासनिक मर्यादाको अपमान हो।”
उनले विपद् व्यवस्थापनलाई “व्यक्तिगत प्रचार वा स्टण्टबाजीको विषय होइन” भन्दै चेतावनी दिएका छन्। बस्नेतका अनुसार, जब अनाधिकृत व्यक्तिहरू सरकारी संयन्त्रमा हस्तक्षेप गर्छन्, त्यसले जनताको विश्वास कमजोर बनाउँछ र राज्यको मर्यादामा चोट पुर्याउँछ।
एमाले सांसद बस्नेतले सरकार, विशेषगरी गृहमन्त्रालय, यस घटनाप्रति मौन बस्नु गलत सन्देश भएको भन्दै तत्काल समीक्षा गरी “राज्यको मर्यादा र कानुनको शासन जोगाउन ठोस कदम चाल्न” माग गरेका छन्।












