बालुवाटारमा जेनजी आन्दोलन पक्षको ९ बुँदे मागपत्र पेश – Sagarmathapana:: Online News Portal

बालुवाटारमा जेनजी आन्दोलन पक्षको ९ बुँदे मागपत्र पेश

   २०८२ आश्विन १९ गते  

काठमाडौं।जेनजी आन्दोलनबाट चर्चामा आएका सुदन गुरुङ नेतृत्वको समूहले आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सरकारसमक्ष ९ बुँदे माग राख्दै तत्काल कार्यान्वयनको माग गरेको छ।

बैठकमा उपस्थित आन्दोलनकारी समूहका प्रतिनिधिहरूले न्याय, शासन र राजनीतिक संरचनामा आमूल परिवर्तनको माग गर्दै प्रधानमन्त्रीलाई मागपत्र बुझाएका छन्।

पेश गरिएका प्रमुख मागहरू यस प्रकार छन् :

  1. प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको राजीनामा – बहालवाला प्रधानन्यायाधीशलाई तत्काल पदबाट हटाउने।
  2. न्याय परिषद् पुनर्संरचना – परिषद्का अध्यक्षलाई राजीनामा दिन लगाई नयाँ संरचना गठन गर्ने।
  3. अख्तियार प्रमुख प्रेम राईको बर्खास्ती – भ्रष्टाचारविरुद्ध प्रभावकारी अनुसन्धानका लागि नयाँ नेतृत्व नियुक्त गर्ने।
  4. रिक्त न्यायाधीश पदहरूमा नियुक्ति – न्यायिक रिक्तता तत्काल भर्ने।
  5. आन्दोलनका क्रममा तोडफोडमा संलग्नमाथि कारबाही नगर्ने।
  6. राष्ट्रपतिसँग ७ दिनभित्र सम्झौता हस्ताक्षर गराउने।
  7. क्याबिनेट र सचिवालयमा जेनजी प्रतिनिधि अनिवार्य सहभागी गराउने।
  8. जेनजी आन्दोलनलाई ‘जनआन्दोलन ०८२’ को मान्यता दिने।
  9. तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको गिरफ्तारी।

स्रोतका अनुसार प्रधानमन्त्रीले मागहरू सुनेर अध्ययन गरी छलफलपछि निर्णय गर्ने बताएको छ।

सरकारभित्रका केही शीर्ष अधिकारीहरूले भने आन्दोलनका केही मागहरू संवैधानिक सीमाभन्दा बाहिर रहेको भन्दै सावधानीपूर्वक अध्ययन आवश्यक भएको टिप्पणी गरेका छन्।

जेनजी आन्दोलनले पछिल्ला हप्ताहरूमा देशभर तीव्र राजनीतिक हलचल ल्याएको छ, विशेषगरी युवामाझ यसको समर्थन बढ्दो क्रममा रहेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै