लगातार वर्षापछि सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय
काठमाडौं।लगातार भइरहेको वर्षापछि उत्पन्न प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै सरकारले आइतबार र सोमबार (असोज १९ र २० गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै विपद् व्यवस्थापन तथा अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक देशभर सार्वजनिक बिदा हुने जनाएको हो।

यसअघि दशैं बिदा सकिएपछि आइतबारदेखि सरकारी कार्यालयहरू सञ्चालन हुने तय भएको थियो। तर विभिन्न राजमार्गमा खसेको पहिरो, बाढी र डुबानको जोखिम तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष चेतावनीलाई ध्यानमा राख्दै सरकारले आकस्मिक रुपमा बिदा दिने निर्णय गरेको हो।
गृह मन्त्रालयको सूचनामा भनिएको छ–
“वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भू-क्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षति हुनसक्ने सम्भावनालाई मध्यनजर गरी असोज १९ र २० गते नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।”
साथै मन्त्रालयले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।












