प्युठानमा सहोदर दाजुभाइद्वारा युवकको हत्या,मदिरा सेवनपछिको विवादमा घटना – Sagarmathapana:: Online News Portal

प्युठानमा सहोदर दाजुभाइद्वारा युवकको हत्या,मदिरा सेवनपछिको विवादमा घटना

   २०८२ आश्विन १८ गते  

प्युठान।प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङमा दुई सहोदर दाजुभाइले स्थानीय एक युवकको हत्या गरेको घटनाले क्षेत्र स्तब्ध बनेको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार २४ वर्षीय प्रकाश सुनार मृत अवस्थामा फेला परेपछि २३ वर्षीय सन्तोष सुनार र २८ वर्षीय गोपाल सुनारलाई हत्या आरोपमा पक्राउ गरिएको हो।

प्रहरीका प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार असोज १४ गते राति मृतक प्रकाश र सन्तोषले सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद भएको थियो। विवाद चर्किएपछि सन्तोषले दाजु गोपाललाई बोलाएका थिए। त्यसपछि दुवै दाजुभाइ मिलेर प्रकाशलाई कुटपिट गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

भोलिपल्ट अर्थात् असोज १५ गते बिहान ६ बजेतिर प्रकाशको शव लिवाङस्थित स्कुल धारादेखि मच्छी जाने कच्ची सडक खण्डमा अन्दाजी सय फिट तल घोप्टो अवस्थामा फेला परेको थियो।

प्रहरीले दाजुभाइले प्रकाशलाई ढिस्कोबाट लडाइदिएका वा प्रकाश आफैं ज्यान जोगाउन खोज्दा ढिस्कोबाट खसेका भन्नेबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

थप अनुसन्धान जारी

प्रहरीले घटनामा संलग्न भनिएका दुवै दाजुभाइलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। शवलाई पोस्टमार्टमका लागि पठाइएको र प्राप्त रिपोर्टपछि घटनाबारे थप प्रष्ट हुने प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै