महावीर पुनमाथि छोरीको पढाइबारे फैलाइएको हल्ला निराधार:सुनिल शर्मा – Sagarmathapana:: Online News Portal

महावीर पुनमाथि छोरीको पढाइबारे फैलाइएको हल्ला निराधार:सुनिल शर्मा

   २०८२ आश्विन १७ गते  

काठमाडौं।सामाजिक अभियन्ता महावीर पुनको छोरी विदेशमा पढ्न १ करोड खर्च गरिएको भन्ने हल्ला पूर्णतः झुट्टा र बदनियतपूर्ण भएको दाबी गरिएको छ।

शिक्षा अभियन्ता तथा समाजसेवी सुनिल कुमार शर्माले सार्वजनिक गर्दै भनेका छन्,“महावीर पुन सरमाथि लगाइएको आरोप निराधार छ। उहाँले छोरीको पढाइमा यति ठूलो रकम खर्च गर्नुभएको छैन।यो पूर्ण रूपमा आपराधिक हल्ला मात्रै हो।

शर्माका अनुसार प्रारम्भमा पुनकी छोरीलाई नेपालकै मेडिकल कलेजमा छात्रवृत्तिमा भर्ना गराउने पहल भएको थियो। तर प्रक्रिया सफल नभएपछि विदेशमा पढाउने निर्णय गरिएको हो। शर्मा भन्छन्,“मैले आफैं उहाँलाई सम्झाएर पासपोर्ट बनाउन लगाएँ र पुतलीसडकस्थित आधार एजुकेशन प्रालिका डा. नरेन्द्र मिश्रमार्फत ढाका विश्वविद्यालय अन्तर्गत जहारूल इस्लाम मेडिकल कलेज, वाजितपुरमा भर्ना गरियो।

उनको भनाइ अनुसार पुनकी छोरीले नेपालकै चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण भएर Ranking नं. 6518 मा नाम निकालेकी थिइन्। अध्ययनका लागि मासिक शुल्क करिब ६२१ अमेरिकी डलर (झण्डै ८७ हजार रुपैयाँ) पर्ने र कुल खर्च ४१ हजार अमेरिकी डलर रहने भए पनि अहिले सम्म ५०% भन्दा बढी रकम महावीर पुन आफैंले भुक्तानी गरिसकेका छन्

शर्माले बजारमा फैलिएको “१ करोड खर्च” भन्ने कुरा पूर्ण असत्य रहेको स्पष्ट पारेका छन्। उनका अनुसार कुनै कन्सल्टेन्सी शुल्क समेत नलिइकन पारदर्शी ढंगले सम्पूर्ण प्रक्रिया पूरा गरिएको हो।

“महावीर पुन सरजस्ता निस्वार्थ समाजसेवीमाथि यसरी आधारहीन आरोप लगाउनेहरू गलत नियतका हुन्। उहाँलाई निरुत्साहित गर्ने हरेक प्रयास असफल हुनुपर्छ,” शर्मा भन्छन्।

शर्माले पुनसँगको पहिलो भेटको स्मरण गर्दै भने, “उहाँसँग पुस्तक किन्दा फिर्ता दिने पैसा नभए पनि खोजेर ल्याएर दिनुभयो।त्यस्तो इमानदारी देख्दा म छक्क परें।”

शर्माले निराधार हल्लामा नफस्न सबैलाई अपील गर्दै प्रमाण र सत्यकै आधारमा बोल्न आग्रह गरेका छन्। उनका अनुसार समाज र देशका लागि महावीर पुनजस्ता अभियन्तालाई निरन्तर समर्थन र सम्मान दिनुपर्ने आवश्यकता छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै