देउवाको पहिलो वक्तव्य:“समाधान संविधानभित्रै खोज्नुपर्छ”
काठमाडौँ-जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आफ्नै निवासमा कुटिएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो मौनता तोडेका छन्। दसैँको फूलपातीको अवसर पारेर उनले सोमबार शुभकामना सन्देश जारी गर्दै अहिलेको राजनीतिक संकट समाधान संविधानभित्रै खोज्नुपर्ने बताएका छन्।
देउवाले भने, “संविधान मुलुकको सर्वोच्च कानुन भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्छ। सात दशक लामो नेपाली जनताको त्याग र बलिदानको प्रतिफल स्वरूप बनेको ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताहरूको समाधान, स्थिरता र प्रगति सुनिश्चित छ।”
उनले देशलाई एकता, शान्ति र समृद्धिको मार्गमा अघि बढाउन सबैको साझा योगदान अपरिहार्य रहेको भन्दै दुर्गा भवानीले आत्मबल र बुद्धि शक्ति प्रदान गरून् भन्ने कामना गरेका छन्।
आन्दोलनमा ज्यान गुमाएका प्रतिको श्रद्धाञ्जली
सन्देशमा देउवाले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका युवा तथा सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेका छन्।
तोडफोड र क्षतिप्रति चिन्ता
उनले आन्दोलनकै क्रममा आपराधिक समूहले गरेका हिंसात्मक गतिविधिबाट राष्ट्रको महत्त्वपूर्ण संरचना, सरकारी कार्यालय, राजनीतिक दलका कार्यालयदेखि निजी सम्पत्ति र व्यवसायिक प्रतिष्ठानसम्ममा भएको क्षति देशकै लागि दुःखद र अल्कपनीय भएको उल्लेख गरेका छन्।
देउवाले भने, “राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतलगायत संरचनामा भएको आक्रमणले खर्बौंको क्षति पुर्याएको छ। यो नेपालको इतिहासकै अत्यन्त दुःखद र अल्कपनीय घटना हो।”













