सुदन गुरुङको चेतावनी : पुराना दललाई चुनाव लड्न नदिने, जरुरी परे जेलसम्म – Sagarmathapana:: Online News Portal

सुदन गुरुङको चेतावनी : पुराना दललाई चुनाव लड्न नदिने, जरुरी परे जेलसम्म

   २०८२ आश्विन १२ गते  

काठमाडौं-नागरिक आन्दोलनका अगुवा सुदन गुरुङले अल जजीरासँगको विशेष अन्तर्वार्तामा आगामी राजनीतिक यात्राबारे कडा चेतावनी दिएका छन्। उनले आफ्नो समूहले आउने चुनावमा सामूहिक रूपमा भाग लिने घोषणा गर्दै, जनताले चाहे आफू प्रधानमन्त्रीका उम्मेदवार बन्ने तयारी भएको बताएका छन्।

गुरुङले पुराना राजनीतिक दल र नेताहरूलाई चुनाव लड्न नदिने योजना बनाएको प्रस्ट पार्दै, भ्रष्टाचार र जेन–जी आन्दोलनका क्रममा भएका हत्या प्रकरणको छानबिनलाई प्राथमिकतामा राख्ने बताए। दोषी ठहरिएका नेताहरूलाई कारबाही गरेर जेल पठाउने दाबीसमेत उनले गरे।

उनको भनाइअनुसार, यदि पुराना पार्टीहरूले फेरि सत्ता हात पार्न खोजे पनि आन्दोलनले त्यसलाई अस्वीकार गर्नेछ। दलहरूले आमूल सुधार नगरेसम्म नयाँ पुस्ताले मान्यता नदिने स्पष्ट सन्देश गुरुङले दिएका छन्।

राजनीतिक परिवर्तनको क्रममा हिंसाको सम्भावना बढ्न सक्ने चेतावनी दिँदै उनले आन्दोलनमा सहभागीलाई सतर्क रहन र आत्मरक्षामा तयार रहन आग्रह गरे। उनले कोतपर्व र फ्रेन्च क्रान्तिभन्दा पनि भयावह रुप लिन सक्ने सम्भावना औंल्याए।

परराष्ट्र नीतिमा भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिँदै गुरुङले आधुनिक सञ्चार प्रविधि र डिस्कर्ड जस्ता प्लेटफर्ममार्फत आन्दोलन समन्वय गर्ने अनुभव समूहसँग रहेको जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै