जेन-जी नेतृ रक्षा बमको ओलीलाई कारबाही माग,भ्रष्टाचारविरुद्ध कडा सन्देश
काठमाडौं।जेन-जी आन्दोलनकी नेतृ रक्षा बमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिलो कारबाही गर्नुपर्ने माग गरेकी छन्।
प्राइम टिभीको कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्ड, ललिता निवास प्रकरण, वाइडबडी काण्डलगायतका सबै भ्रष्टाचार प्रकरणमा संलग्न व्यक्तिहरूमाथि कठोर कारबाही हुनुपर्नेमा जोड दिइन्।

आन्दोलनका क्रममा आफ्ना साथीमाथि गोली प्रहार भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै बमले अब ओलीलाई नेतृत्वमा देख्न नसकिने स्पष्ट पारिन्। “भ्रष्टाचार र दुराचारमा संलग्न सबै नेतामाथि दलभित्रै प्रश्न उठाउनुपर्छ, सुधार ल्याउनैपर्छ,” उनले भनिन्।


बमले पाका नेताहरूले अब नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने सुझाव दिँदै सडकमा देखिएको जनआक्रोशलाई बुझ्न राजनीतिक दलहरू गम्भीर हुनुपर्ने चेतावनी दिइन्।












