पूर्व राजनीतिक नेता तथा कर्मचारीको सुविधा कटौती : सवारी र सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन
काठमाडौँ-सरकारले पूर्व राजनीतिक पदाधिकारी र पूर्व सरकारी कर्मचारीलाई उपलब्ध गराउँदै आएको अतिरिक्त सुविधा कटौती गर्ने निर्णय गरेको छ। यसअन्तर्गत उनीहरूलाई दिइएका सरकारी सवारी साधन र सुरक्षाकर्मी फिर्ता गर्न सम्बन्धित निकायलाई निर्देशन जारी गरिएको हो।

गृह मन्त्रालयका अनुसार अबदेखि पूर्व प्रधानमन्त्री, मन्त्री, सांसद तथा उच्च पदस्थ कर्मचारीहरूले व्यक्तिगत प्रयोगका लागि सरकारी गाडी वा सुरक्षाकर्मी सुविधा पाउने छैनन्। केवल अत्यावश्यक अवस्थामा मात्रै सुरक्षाको व्यवस्था गर्ने भनिएको छ।
सुविधा कटौतीको कदम सार्वजनिक खर्च घटाउन र राज्य स्रोतको दुरुपयोग रोक्न गरिएको सरकारको दाबी छ। मन्त्रालयले भनेको छ, “जनतामुखी शासन व्यवस्थामा अनावश्यक खर्च कम गर्नु आजको आवश्यकता हो, त्यसैले सुविधा व्यवस्थापनलाई व्यवस्थित बनाइएको हो।”
यसअघि पूर्व पदाधिकारीले पदावधि सकिएपछि पनि लामो समयसम्म सरकारी सवारी प्रयोग गर्ने र सुरक्षाकर्मी राख्ने चलन रहँदै आएको थियो। नयाँ निर्णयसँगै अब ती सुविधा स्वतः समाप्त हुनेछन्।













