एनआरएनएको प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीलाई लगानी र श्रमिक सुरक्षासम्बन्धी सुझाव हस्तान्तरण
काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
भेटका क्रममा प्रतिनिधिमण्डलले मुलुकको वर्तमान राजनीतिक तथा आर्थिक अवस्थाबारे विचार विमर्श गर्दै आसन्न निर्वाचनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।
एनआरएनएका अनुसार प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको सुझावपत्रमा गैरआवासीय नेपाली नागरिकता, वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा, सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन, रेमिटेन्सलाई कलेक्टिभ इन्भेस्टमेन्टमार्फत उत्पादक क्षेत्रमा उपयोग गर्ने प्रस्ताव लगायतका विषय समावेश छन्।
प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँगै अर्थमन्त्री, ऊर्जा मन्त्री र मुख्य सचिवलाई समेत यी विषयमा आवश्यक पहल गर्न आग्रह गरेको छ। विशेषगरी विदेशमा रहेका श्रमिकको सुरक्षित श्रम वातावरण, पुलिस सेवामा सहज पहुँच, व्यवसायीको जोखिम न्यूनीकरण तथा दीर्घकालीन नीतिगत व्यवस्था आवश्यक रहेको सुझाव दिइएको एनआरएनएले जनाएको छ।
प्रधानमन्त्री कार्कीले सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी नीतिगत रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।












