जेनजी कार्यकर्ताको दबाब : माओवादी केन्द्रमा २५ प्रतिशत प्रतिनिधित्वको माग – Sagarmathapana:: Online News Portal

जेनजी कार्यकर्ताको दबाब : माओवादी केन्द्रमा २५ प्रतिशत प्रतिनिधित्वको माग

   २०८२ आश्विन ९ गते  

काठमाडौं।नेकपा माओवादी केन्द्रका जेनजी (Gen Z) कार्यकर्ताले पार्टी संरचनामा आफ्नो २५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिक पत्र बुझाउँदै नयाँ पुस्ताको निर्णायक भूमिकालाई संस्थागत गर्न दबाब दिएका हुन्।

पत्रमा भनिएको छ, “जेनजी पुस्ता अबको नेपालको राजनीतिमा निर्णायक शक्ति हो। हाम्रो सहभागिता पार्टी पुनर्गठनदेखि नेतृत्व तहसम्म सुनिश्चित हुनुपर्छ।”

कार्यकर्ताहरूले चेतावनी दिँदै भनेका छन्, “यदि हाम्रो माग सम्बोधन भएन भने हामी पार्टीबाहिर जान बाध्य हुनेछौं।”

यसैबीच, माओवादी केन्द्रले आजदेखि केन्द्रीय समिति बैठक सुरू गरेको छ। काठमाडौंको प्रज्ञा भवनमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। बैठकमा विशेष महाधिवेशन, पार्टी एकता र ध्रुवीकरण, आसन्न आम निर्वाचनको मिति, राहत तथा पुनर्निर्माणलगायतका एजेन्डामा छलफल हुने बताइएको छ।

माओवादी नेताहरूका अनुसार, पार्टी पुनर्गठन प्रक्रियामा युवाको भूमिका र आगामी रणनीतिबारे बैठकले महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै