युलेन्स एजुकेशन फाउण्डेशनले डा.आरजु राणा देउवासम्बन्धी भ्रम स्पष्ट पार्यो
काठमाडौं।युलेन्स एजुकेशन फाउण्डेशनले डा. आरजु राणा देउवालाई विद्यालयसँग जोडेर गरिएको दुष्प्रचारलाई असत्य र भ्रामक भन्दै खारेज गरेको छ।
फाउण्डेशनले बुधबार जारी गरेको विज्ञप्तिमा डा. देउवा विद्यालयको व्यवस्थापन समितिकी अध्यक्ष मात्र भएको स्पष्ट पारिएको छ। फाउण्डेशनले विद्यालयलाई व्यक्तिगत नाफामुखी व्यवसायका रूपमा प्रस्तुत गर्ने प्रयासप्रति आपत्ति जनाउँदै, उक्त दाबीको कुनै आधार नभएको जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, “डा. आरजु राणा देउवा लामो समयदेखि महिला सशक्तीकरण, शिक्षा र सामाजिक क्षेत्रमा सक्रिय रहिएकी छिन्। विद्यालयको स्थापना तथा सञ्चालन प्रक्रिया शिक्षा ऐन र नियमावलीअनुसार भएको हो, जसअनुरूप उनलाई व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरिएको हो।”
फाउण्डेशनले दुष्प्रचारमा संलग्न व्यक्तिहरूलाई प्रमाणसहित आफ्नो आरोप पुष्टि गर्न चुनौती दिएको छ। अन्यथा कानूनी कारबाही र क्षतिको क्षतिपूर्ति दिन बाध्य हुने चेतावनीसमेत फाउण्डेशनले दिएको छ।












