जेनजी कर्मचारीद्वारा दल सम्बद्ध ट्रेड यूनियन खारेज र भ्रष्टाचारमुक्त प्रशासनको माग – Sagarmathapana:: Online News Portal

जेनजी कर्मचारीद्वारा दल सम्बद्ध ट्रेड यूनियन खारेज र भ्रष्टाचारमुक्त प्रशासनको माग

   २०८२ आश्विन ९ गते  

काठमाडौं।जेनजी कर्मचारीहरूले दल सम्बद्ध ट्रेड यूनियनहरूले योग्य कर्मचारीको सरुवा–बढुवा र जनताको सेवामा बाधा पुर्‍याएको भन्दै ती संगठनहरू तत्काल खारेज गर्न माग गरेका छन्।

उनीहरूले सार्वजनिक प्रशासन रूपान्तरण अभियान–२०८२ अन्तर्गत भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न सरकारसँग कदम चाल्न अनुरोध गरेका छन्। अभियानका सहभागी कर्मचारीहरूले जेनजी आन्दोलनको मूल भावनाअनुसार भ्रष्टाचारमुक्त र सुशासनयुक्त प्रशासन निर्माण गर्न जोड दिएका छन्।

हालको समस्याको मूल कारण राजनीतिक तथा उच्च प्रशासनिक नेतृत्वको अक्षमता, अकर्मण्यता र गैरजिम्मेवारी रहेको उनीहरूले औँल्याएका छन्। तत्कालीन राजनीतिक नेतृत्व हटिसकेपछि उनका पछुवा पदाधिकारी र कर्मचारीहरूले पनि पद छोड्नुपर्ने माग गरिएको छ।

ज्ञापनपत्रमा उल्लेख छ कि निजामती सेवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, शैक्षिक क्षेत्र र अन्य सार्वजनिक संस्थामा राजनीतिक हस्तक्षेपले सेवा प्रणाली अपांग बनेको छ।

जेनजी कर्मचारीहरूले सम्पूर्ण कर्मचारीको मनोबल वृद्धि गरी सेवा चुस्त, दुरुस्त बनाउन, संघीय निजामती सेवा ऐनसहित सार्वजनिक सेवा व्यवस्थित गर्ने कानुन तुरुन्त लागू गर्न र २५ वर्ष सेवा वा ५३ वर्ष उमेर पुगेकालाई स्वैच्छिक अवकाश दिने व्यवस्था लागू गर्न सरकारसँग माग गरेका छन्।

उनीहरूले भ्रष्टाचार अन्त्य र सुशासन कायम नगरे प्रशासनिक प्रतिगमनको चेतावनी समेत दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै