मन्त्री महावीर पुनको “मन्त्रालयमै बस्ने” घोषणा विवादमा, एमाले नेता बस्नेतको व्यंग्यपछि सामाजिक संजाल तातेको
काठमाडौं।शिक्षामन्त्रीमा नियुक्त भएसँगै महावीर पुनले मन्त्रालयमै बस्ने घोषणा गरेपछि राजनीतिक वृत्तदेखि सामाजिक संजालसम्म चर्को बहस सुरु भएको छ।
सोमबार पदभार ग्रहण गर्दै मन्त्री पुनले “म जता जान्छु त्यहीं काम गर्छु, त्यहीं बस्छु” भन्दै मन्त्रालयकै कोठामा खाट, टेबल र किचनको माग गरेका थिए। उनले गार्ड, सरकारी क्वार्टर वा विशेष सुविधा नचाहिने स्पष्ट गर्दै आफैं पकाएर खाने र २४ घण्टा मन्त्रालयमै उपलब्ध हुने प्रतिबद्धता व्यक्त गरेका थिए।
तर एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक संजालमार्फत पुनको शैलीलाई “सस्तो लोकप्रियताको स्टण्ट” भन्दै प्रहार गरेका छन्। उनले पुनको व्यवहारलाई “बहुलट्ठी स्वभावको नाटक” का रूपमा चित्रण गर्दै मन्त्रीको प्राथमिकता बसाइँ–खाना होइन, नीति र कार्यान्वयन हुनुपर्ने टिप्पणी गरेका छन्।
बस्नेतको व्यंग्यपछि सामाजिक संजालमा समर्थक र आलोचकबीच तीव्र बहस भएको छ। केहीले मन्त्री पुनको कदमलाई पारदर्शिता र कामप्रतिको समर्पणको प्रतीक भन्दै समर्थन गरेका छन् भने अरूले “लोकप्रिय देखिन खोजेको शैली” भनेर आलोचना गरेका छन्।
यसअघि मन्त्री पुनले मन्त्रालयमा प्रवेशलगत्तै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्ने, परीक्षा नतिजा तीन महिनाभित्रै सार्वजनिक गर्ने लगायतका निर्देशन जारी गरेका थिए। तर ती नीतिगत एजेन्डाभन्दा बढी अहिले उनको बसाइँ–खाना शैली नै राजनीतिक बहसको केन्द्र बनेको छ।












