डा. निकोलस भुलासले घोषणा गरे– फागुन २१ मा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको उम्मेदवार
काठमाडौं-डा. निकोलस भुलासले अन्तरिम संविधान जारी गरी आगामी फागुन २१ गते प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर्नुपर्ने माग गरेका छन्।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गरेका छन्।
उनले हालको राजनीतिक संरचना र अभ्यासमा देखिएका विकृति–विसंगति अन्त्य गर्न संविधान पुनर्लेखन आवश्यक रहेको बताउँदै प्रदेशसभा र राष्ट्रिय सभा खारेज गर्ने प्रस्ताव अघि सारे।
भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र नयाँ राजनीतिक दिशानिर्देशनका लागि आफूले अघि सारेको कदम ऐतिहासिक हुने दाबी गर्दै डा. भुलासले भने,
“अहिले भएका बेथिति र सम्पूर्ण विसंगतिलाई चिरेर, भ्रष्टाचार छानबिन गरेर, अन्तरिम संविधान जारी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रणाली लागू गर्नुपर्छ।”
उनले फागुन २१ गते, जुन उनको जन्मदिन पनि पर्छ, त्यही दिन पहिलो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गरिनुपर्नेमा जोड दिए।












