जनमतबाट अलग भएकाहरूले जनस्वराज पार्टीको घोषणा गरे
जनकपुरधाम-जनमत पार्टीबाट निष्कासनमा परेका तथा बाहिरिएका नेताहरूले जनस्वराज पार्टी गठन गरेका छन्। शुक्रबार र शनिबार जनकपुरधाममा सम्पन्न भेलाले नयाँ राजनीतिक दलको औपचारिक घोषणा गरेको हो।
पार्टी गठनको जानकारी दिंदै नेता दीपककुमार साहले पुराना दलहरूको असफलता, संकुचित सोच, बेथिति र भ्रष्टाचारका कारण मुलुक संकटमा फसेको दाबी गर्दै जनताले अब आफ्नै शासन आफैं गर्ने व्यवस्था निर्माण गर्नुपर्ने बताएका छन्।
उनका अनुसार सामूहिक नेतृत्वमा आधारित “सम्यक समाज” निर्माण गर्ने मूल लक्ष्यसहित जनस्वराज पार्टी अघि बढाइएको छ। प्रारम्भिक संरचनामा सञ्जयकुमार साह संयोजक रहेको प्रशिक्षण विभाग, सुरेन्द्र नारायण यादव संयोजक रहेको आर्थिक विभाग र दीपककुमार साह संयोजक रहेको राजनीतिक संगठन विभाग गठन गरिएको छ।
‘जनस्वराज पार्टीको ऐतिहासिक घोषणा जनकपुरधाम, धनुषाको पवित्र भूमिबाट गरिएको छ,’ साहले भने, ‘अन्य विभागहरू पनि चाँडै गठन हुनेछ। जनता र आजको जेन–जी पुस्ताको आकांक्षा पूरा गर्न सही बाटो (सम्यक पथ) मार्गदर्शक हुनेछ।’
पार्टीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्ने, पारदर्शी र जवाफदेही राजनीति स्थापना गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्ने, मुलुक सुहाउँदो पूर्वाधार विकासलाई प्राथमिकता दिने नीति लिएको छ।
त्यसैगरी तराई–मधेससहित नेपालका सबै क्षेत्रमा समान अधिकार र विकास सुनिश्चित गर्ने, महिला, युवा, दलित, मुस्लिम, किसान, समलैङ्गी, श्रमिक तथा विपन्न वर्गलाई विशेष अधिकारसहित सशक्तीकरण गर्ने, स्थानीय स्वायत्तता र जनताको प्रत्यक्ष सहभागितासहित कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गर्ने लक्ष्यसमेत पार्टीले तय गरेको छ।












