सीजी समूहका उद्योग व्यवसायमा तोडफोड र आगजनीबाट ५०० करोड बराबरको नोक्सानी
काठमाडौं।हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा चौधरी समूह (सीजी) अन्तर्गतका विभिन्न उद्योग–व्यवसायमा भएको तोडफोड, लुटपाट र आगजनी घटनाबाट करिब ५०० करोड रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ।
शनिबार अर्थमन्त्री रामेश्वर खनालले सतुङ्गलस्थित चौधरी समूहको इलेक्ट्रोनिक्स कारखाना अवलोकन गरेका छन्। उक्त अवलोकनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल पनि सहभागी भएका थिए।
गत भदौ २३ र २४ गते प्रदर्शनकारीहरूले योजनाबद्ध ढंगले राजधानीसहित विभिन्न स्थानमा रहेका सीजीका व्यवसायिक संरचनामा आक्रमण गरेका थिए। सतुङ्गलस्थित इलेक्ट्रोनिक्स कारखाना र गोदाममा आगजनी गरी भवन, मेसिनरी, उपकरण, मौज्दात र सवारीसाधन पूर्णरूपमा नष्ट भएको छ। त्यस्तै, सोही स्थानमा रहेको सिजी नेटको सर्वर र डाटा सेन्टरमा समेत ठूलो क्षति पुगेको समूहले जनाएको छ।
थापाथलीस्थित सिजी मोटर्सको शोरुम, दरबारमार्गको मोबाइल सर्भिस सेन्टर, रवीभवनस्थित अध्यक्ष विनोद चौधरीको निवास, बर्दघाटस्थित कार्यालय र निवास, चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्क व्यवसायिक भवन तथा पसल, जोरपाटीस्थित द चाँदबाग स्कूल लगायतका स्थानमा समेत तोडफोड, लुटपाट र आगजनी भएको छ।
सतुङ्गलस्थित इलेक्ट्रोनिक्स डिभिजनमा मात्रै १ हजारभन्दा बढी कर्मचारी कार्यरत रहेका थिए। चौधरी समूहले यस्ता प्रतिकूल परिस्थितिमा पनि कर्मचारीलाई जागिरबाट ननिकाल्ने र तलब–भत्ता कटौती नगर्ने जनाएको छ।
समूहले यस घटनालाई केवल आफ्नै व्यापारिक क्षति नभई सम्पूर्ण व्यवसायिक समुदायमाथिको आक्रमण को रूपमा व्याख्या गर्दै सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने चेतावनी दिएको छ।
चौधरी समूहका मुख्य मागहरू
१. दीर्घकालीन औद्योगिक सुरक्षा योजनाको प्रत्याभूति गर्नुपर्ने।
२. बीमा दावी तत्काल भुक्तानी गर्नुपर्ने तथा बीमामा नपरेका क्षतिको उचित क्षतिपूर्ति दिनुपर्ने।
३. एक वर्षसम्म ऋण पुनर्तालिकिरण, व्याज मिनाहा वा सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने।
४. क्षतिग्रस्त उद्योग र गोदाम पुनर्निर्माणका लागि आवश्यक सामग्री तथा मेसिनरी आयातमा शुल्क छुट दिनुपर्ने।
५. पूर्णरूपमा क्षति भएका सवारी साधन पुनः आयात गर्दा महशुल छुट दिनुपर्ने।
६. नष्ट भएका कागजातका सट्टा उपलब्ध कागजातका आधारमा कर परीक्षण गर्नुपर्ने।
७. सेजमा पाउने सुविधाहरू अन्य उद्योग व्यवसायलाई पनि उपलब्ध गराउनुपर्ने।
चौधरी समूहले चेतावनी दिएको छ कि यस्ता आक्रमण दोहोरिए लगानी वातावरण थप कमजोर भई विदेशी लगानी पलायन, बेरोजगारी वृद्धि र समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्नेछ।












