बलिदान’ ट्रेलर सार्वजनिक,दशैंमा हलमा आउँदै चर्चित फिल्म – Sagarmathapana:: Online News Portal

बलिदान’ ट्रेलर सार्वजनिक,दशैंमा हलमा आउँदै चर्चित फिल्म

   २०८२ आश्विन ५ गते  

काठमाडौं-नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षित मानिएको फिल्म ‘बलिदान’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ। यसअघि पोस्टर, प्रि–टिजर, टिजर र गीतमार्फत दर्शकमाझ उत्सुकता जगाइसकेको यस फिल्मले ट्रेलरमार्फत अझ व्यापक चर्चा कमाएको छ।

ट्रेलरको सुरुवातमा अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा प्रस्तुत हुँदै देश र अस्मिता जोगाउने वचन छोरासँग मागेको भावनात्मक दृश्य देखाइएको छ। यसपछि अभिनेता समीर भट्टको दमदार प्रवेश हुन्छ, जसले “आमाको विषयमा केही भनिस् भने काट्दिन्छु” भन्ने कडा संवादसँगै शक्तिशाली एक्शन प्रस्तुत गरेका छन्।

फिल्ममा सौगात मल्ल, अर्पण थापा, महेन्द्र बुढाथोकीलगायतका कलाकार फरक–फरक अवतारमा देखिएका छन्। मल्लको राक्षसी रुप, समीर र सौगातबीचको द्वन्द्व, दर्जनौं खलनायकसँगको भिडन्त, आकर्षक छायांकन र प्रभावशाली ब्याकग्राउन्ड स्कोरले ट्रेलरलाई उत्कर्षमा पुर्‍याएको छ।

यसअघि सार्वजनिक गरिएको टिजरमा सौगात मल्लको मसाल बोकेको दृश्य, हेमन्त बुढाथोकीको दमदार संवाद र ऋचा शर्माको भावनात्मक प्रश्नले दर्शकलाई प्रभावित पारेको थियो। निर्देशक सन्तोष सेन आफैं पनि आदिवासी पात्रको रूपमा देखिएका छन्।

फिल्मको शीर्ष गीत ‘यो ज्यान बलिदान’ पहिले नै सार्वजनिक भइसकेको छ। सुजन चापागाईँको स्वर र संगीत, हर्क साउदको शब्दमा तयार गीतले जनमानसमा लोकप्रियता पाइरहेको छ।

आसुसेन फिल्म्स प्रा.लि.को व्यानरमा बनेको ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय रहेको छ। फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

आगामी असोज १३ गते (फूलपातीको दिन) रिलिज हुन लागेको ‘बलिदान’ नेपाली फिल्म इतिहासमै एउटा साहसी कदमका रूपमा स्मरणीय बन्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै