जेन–जी समूहले उच्चस्तरीय छानबिन आयोग गठनको माग
काठमाडौँ-जेन–जी समूहले देशमा व्याप्त कुशासन र राज्य संयन्त्रको दुरुपयोगबारे गम्भीर आपत्ति जनाउँदै तत्काल उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।
शुक्रवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा समूहका सल्लाहकार डा. निकोलश भुसालले राष्ट्रिय सभा विघटन गरी संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन व्यवस्था गर्नुपर्नेमा जोड दिए।उनले २०४६ सालयता उच्च पदस्थ नेता र कर्मचारीको सम्पत्तिको छानबिन गरी पारदर्शी शासन प्रणालीको आधार तयार गर्नुपर्ने तर्क गरे।
कार्यक्रममा आन्दोलनका क्रममा घाइते भएका हरि अधिकारीले समाजमा मौलाएको अन्याय र कुशासनविरुद्ध लड्न बाध्य भएको बताए। उनका अनुसार माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिइनेछ।
शहीद परिवारकी प्रतिनिधि नर्गिस थापाले शहीदको बलिदानलाई सम्मान गर्ने खालको नीतिगत निर्णय सरकारले लिनुपर्नेमा जोड दिइन्।
त्यस्तै, सल्लाहकार कुशलव केसी, खेमराज साउद, खोजराज कटुवाल, निपेस ढाका अधिकारी, डा. सुन्दर थापा र वैज्ञानिक कपिल पौडेललगायतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले मात्र देशको विकास सुनिश्चित हुने धारणा राखे। उनीहरूले शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने, रोजगारी सिर्जना गर्ने र युवाको विदेश पलायन रोक्न राज्यले प्राथमिकता दिनुपर्ने बताए।
अभियन्ता केसीले लामो समयदेखि सहकारी पीडितका माग सम्बोधन नभएको स्मरण गर्दै आगामी सरकारले यस्ता मुद्दा समाधान नगरे आन्दोलनलाई अझ व्यापक बनाइने चेतावनी दिए।












