अन्तर्राष्ट्रिय कार्डमार्फत नेपालमा राजस्व भुक्तानीको सुरुवात
काठमाडौं।विदेशमा रहेका सेवाग्राही तथा नेपाल आउने पर्यटकले अब मास्टरकार्ड, भिसा, अलिपे जस्ता अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरेर राजस्व भुक्तानी गर्न सक्ने भएका छन् । बिहीबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र मुख्यसचिव एकनारायण अर्यालले राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको अन्तरआबद्धता शुभारम्भ गरेका हुन् ।
नयाँ प्रणालीमार्फत अध्यागमन विभागका सेवा शुल्क सहज रूपमा भुक्तानी गर्न सकिनेछ । यसले विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपाल प्रवेश गर्ने पर्यटकलाई थप सुविधा दिने अपेक्षा गरिएको छ ।
महालेख नियन्त्रक कार्यालयका अनुसार यो पहलले सरकारी सेवा प्रवाहलाई पेपरलेस र फेसलेस बनाउनुका साथै २४ घण्टा उपलब्ध हुने सुविधा सुनिश्चित गरेको छ । साथै राजस्व संकलन प्रक्रियालाई द्रुत, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन मद्दत पुग्ने तथा डिजिटल अर्थतन्त्र प्रवर्द्धनमा योगदान गर्ने विश्वास गरिएको छ ।
हाललाई अध्यागमन विभागका राजस्व भुक्तानीमा सीमित यो सेवा निकट भविष्यमा अन्य सरकारी सेवामा पनि विस्तार गर्ने तयारी सरकारले गरेको छ ।












