विदेशमा रहेका नेपालीलाई मतदानको सुविधा दिने तयारी
काठमाडौँ।सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपालीलाई समेत मतदान गर्ने व्यवस्था मिलाउने तयारी गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले मंगलबार सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै कम्तीमा समानुपातिकतर्फ भए पनि विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राखे।
उनले निर्वाचन आयोगसँग आवश्यक समन्वय भई कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिँदै भने, “देशका सबै नागरिकको मताधिकार सुनिश्चित गर्नु हाम्रो प्राथमिकता हो। त्यसका लागि आवश्यक भए अध्यादेशमार्फत पनि व्यवस्था मिलाइनेछ।”
हालसम्म विदेशमा रहेका नेपालीलाई निर्वाचनमा मतदान गर्ने सुविधा उपलब्ध नभएकाले यसलाई महत्वपूर्ण कदमका रूपमा लिइएको छ। सरकारको तयारीले लाखौँ वैदेशिक रोजगारीमा रहेका नेपाली युवालाई मताधिकार प्रयोग गर्ने अवसर दिलाउने अपेक्षा गरिएको छ।












