१० दिनपछि सार्वजनिक भए ओली, गुन्डुमा बसोबासको व्यवस्था – Sagarmathapana:: Online News Portal

१० दिनपछि सार्वजनिक भए ओली, गुन्डुमा बसोबासको व्यवस्था

   २०८२ आश्विन २ गते  

काठमाडौँ-नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली १० दिनपछि सार्वजनिक भएका छन्।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सेनाको हेलिकप्टरमार्फत बाहिरिएका ओली बिहीबार भक्तपुरको गुन्डु पुगेका हुन्।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार ओलीका लागि गुन्डु क्षेत्रमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ। उनले भने, “अध्यक्षज्यू यहाँ बस्ने गरी आउनुभएको हो, उहाँको लागि बसोबासको तयारी पूरा भइसकेको छ।”

ओलीलाई त्यहाँ पुग्दा एमालेका नेता–कार्यकर्ताले स्वागत गरेका थिए। उनलाई एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको घर नजिकै बसोबास गराइएको बताइएको छ। अब उनी त्यहीँबाट सक्रिय हुनेछन्।

संविधान दिवस (शुक्रबार) का अवसरमा च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजना हुने कार्यक्रममा ओली सहभागी हुने सम्भावना रहेको एमाले स्रोतले जनाएको छ। यसअघि नै बस्नेतले ओलीलाई हजारौँ नेता–कार्यकर्तासहित भव्य स्वागत गर्ने घोषणा गरेका थिए।

जेन-जी आन्दोलनको क्रममा ओलीको पुर्ख्यौली घर तेह्रथुम, झापाको दमकस्थित घर र बालकोटको निवासमा आगजनी भएको थियो। यही कारण उनका लागि नयाँ बसोबास गुन्डुमा मिलाइएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै