ओस्कार २०२६ का लागि नेपालबाट ‘अञ्जिला’ चयन – Sagarmathapana:: Online News Portal

ओस्कार २०२६ का लागि नेपालबाट ‘अञ्जिला’ चयन

   २०८२ आश्विन २ गते  

काठमाडौं-आगामी वर्ष हुने ९८औं एकेडेमी अवार्ड (ओस्कार) अन्तर्राष्ट्रिय फिचर फिल्म विधाका लागि नेपालबाट चलचित्र ‘अञ्जिला’ सिफारिस गरिएको छ।

एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द ओस्कार) अन्तर्गतको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै ‘अञ्जिला’ लाई नेपालको आधिकारिक प्रवेशका रूपमा चयन गरिएको जानकारी दिएको हो।

यसपटक प्रतिस्पर्धामा दुई नेपाली कथानक चलचित्र – ‘गुन्यु चोलो : द ड्रेस’ र ‘अञ्जिला’ रहेका थिए। समितिले दुवै चलचित्रको मूल्याङ्कनपछि प्राविधिक पक्ष, कथानकको प्रस्तुति, चरित्रको भावनात्मक गहिराइ तथा कलात्मक शिल्पलाई मापदण्ड मान्दै अन्ततः ‘अञ्जिला’ लाई छनोट गरेको हो।

मिलन चाम्स निर्देशित यो चलचित्र नेपाली फुटबल टोलीकी राष्ट्रिय गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा आधारित छ। दयाहाङ राई, विजय बराल, सुनिल थापा, सृजना सुब्बा र माओत्से गुरुङलगायत कलाकारले प्रमुख भूमिका निर्वाह गरेका छन्।

गत वर्ष रिलिज भएको ‘अञ्जिला’ ले व्यावसायिक सफलता हासिल गरेको थियो र प्रदर्शनको १०० दिन पूरा गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो।

अब यो चलचित्र ओस्कार २०२६ को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालको आधिकारिक प्रतिनिधित्व गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै