प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भर्चुअल संवाद
काठमाडौं।नेपाल र भारतबीच आज (बिहीबार) प्रधानमन्त्री स्तरको कुराकानी हुन लागेको छ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भर्चुअल माध्यमबाट संवाद हुने तयारी भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।
यसअघि मंगलबार भारतका राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका थिए। भेटमा उनले भारतले नेपालको विकास, पुनर्निर्माण र स्थिरतामा निरन्तर सहयोग गर्ने आश्वासन दिएका थिए।
प्रधानमन्त्री कार्कीले पनि पारस्परिक हितका विषयमा गहिरो छलफल गर्न बिहीबार मोदीसँग भर्चुअल कुराकानी गर्ने बताएकी थिइन्। यही प्रतिबद्धता अनुसार आज दुबै देशका प्रधानमन्त्रीबीच छलफल हुने भएको हो।
मोदीले केही दिनअघि कार्कीलाई बधाई दिँदै नेपालको असामान्य अवस्थामध्ये पनि नागरिक सरकार गठन भएकोमा स्वागत जनाएका थिए। उनले नेपालको शान्ति र समृद्धिको यात्रामा भारत सधैं सहयात्री रहने बताएका थिए।
उता, नेपालको आन्तरिक राजनीतिक परिवेशमा ठूलो परिवर्तन भइसकेको छ। जेनजी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व सुम्पिएका हुन्। त्यसै रात संसद विघटन गर्दै आगामी फागुन २१ गते आम निर्वाचनको मिति तय गरिएको छ।
अहिलेको अन्तरिम सरकारको प्रमुख चुनौती भनेको ६ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नु रहेको छ।












