राष्ट्रिय खाद्य बैंक लिमिटेडले आईपीओ जारी गर्ने घोषणा, कृषि क्षेत्रमा आत्मनिर्भरता ल्याउने योजना
काठमाडौँ।राष्ट्रिय खाद्य बैंक लिमिटेडले आगामी असोज २५ गते वार्षिक साधारण सभा गर्दै कम्पनीको आईपीओ जारी गर्ने तयारी गरेको छ। कम्पनीले साधारण सभा सम्पन्न गरेपछि ३० करोड रुपैयाँबराबरको सर्वसाधारण निष्काशन (IPO) गर्ने निर्णय गर्ने जनाएको छ।
कम्पनीका प्रवक्ता पवित्रा कुमारी पोखरेलका अनुसार, खाद्य सुरक्षा र कृषि आत्मनिर्भरता लक्षित गर्दै बैंकले कृषि उत्पादन, भण्डारण, प्रशोधन, ग्रेडिङ, व्यक्तिगत तथा व्यावसायिक बजार व्यवस्थापनमा लगानी गर्दै आएको छ। यसले कृषि क्षेत्रमा व्यावसायिकता र आत्मनिर्भरता बढाउने दाबी गरिएको छ।


हालसम्म लगानीको दृष्टिकोणले खाद्य तथा कृषि क्षेत्र सुरक्षित र आकर्षक रहेको भन्दै राष्ट्रिय खाद्य बैंकले उपयुक्त प्रतिफल दिने खालका परियोजनामा लगानी गरिरहेको जनाएको छ। यसै क्रममा बैंकले तेल, गेडागुडी, अन्न, माछा, कुखुरा, बाख्रालगायतका खाद्य उत्पादन र पशुपालनसम्बन्धी योजनामा प्राथमिकता दिएको छ।
साथै, कम्पनीले निकट भविष्यमै तेल मिल, उत्पादन तथा प्रशोधन उद्योग सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। यसले कृषि क्षेत्रमा आयात प्रतिस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने कम्पनीको विश्वास छ।
साधारण सभा काठमाडौंको होटल हेरिटेज भिलेज, सानोथिमी, भक्तपुरमा असोज २५ गते बिहान ११ बजे हुने भएको छ।












