आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झनामा दिक्तेलमा दीप प्रज्वलन
दिक्तेल-जेन-जी पुस्ताले भदौ २३ र २४ गते आयोजना गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झनामा दिक्तेल युवा समाजले आज साँझ दिक्तेल त्रिवेणी चोकमा दीप प्रज्वलन गरेको छ।
युवाहरुको बलिदानलाई सम्मान गर्दै आयोजित कार्यक्रममा उपस्थितहरुले लोकतान्त्रिक आन्दोलन र न्यायका लागि आवाज उठाउने क्रममा ज्यान गुमाउन बाध्य भएका सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। कार्यक्रममा सहभागीहरुले मैनबत्ती बाली मौन श्रद्धाञ्जलि अर्पण गर्दै आन्दोलनका मागलाई सम्बोधन गर्न सम्बद्ध निकायलाई आग्रह गरेका थिए।
आयोजक दिक्तेल युवा समाजका प्रतिनिधिहरुले आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरुले ल्याएको ऊर्जा र आवाजलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।












