लुटिएका गरगहना किनबेच नगर्न प्रहरीको आग्रह
काठमाडौं-नेपाल प्रहरीले नागरिकलाई बिलबिनाको गरगहना तथा अन्य सामान खरिद नगर्न आग्रह गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार, भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा विभिन्न मल, बैंक र निजी घरहरूबाट लुटपाट भएका गहना तथा सामाग्री बजारमा आउन सक्ने जोखिम रहेको भन्दै प्रहरी सतर्कता अपनाउन आग्रह गरेको हो।
प्रहरीले यस्तो सामान खरिद–बिक्रीमा संलग्न हुने व्यक्तिहरू कानुनी कारबाहीमा पर्ने चेतावनी दिएको छ। साथै, यदि कसैले शंकास्पद गरगहना वा बिलबिनाको सामग्री बिक्रीका लागि ल्याए तत्काल नजिकैको प्रहरी कार्यालयमा खबर गर्न पनि अपिल गरिएको छ।
सिआइबीले लुटिएका वा चोरीका सामान बजारमा नआओस् भन्ने उद्देश्यले प्रहरीको निगरानी बढाइएको र नागरिकको सहकार्य आवश्यक रहेको जनाएको छ।












