उपत्यकामा ट्राफिक व्यवस्थापनमा प्रहरीको उच्च सक्रियता:एसएसपी अधिकारी
काठमाडौं।जेनजी आन्दोलनका कारण उपत्यका ट्राफिक प्रहरी कार्यालय जलेर क्षतिग्रस्त भए पनि ट्राफिक प्रहरीहरू उच्च मनोबलसहित सडक व्यवस्थापनमा खटिएका छन् ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार आन्दोलनका क्रममा कार्यालय मात्र होइन, सडक डिभाइडर, ट्राफिक बत्ती र सिसिटिभी प्रणालीमा समेत व्यापक क्षति पुगेको छ ।
“सवारी आवागमनमा तत्काल समस्या देखिएकाले यसलाई सहज बनाउन हामीले आवश्यक भन्दा बढी संख्यामा ट्राफिक प्रहरी परिचालन गरेका छौं,” अधिकारीले जानकारी दिए । उनले सडक प्रयोगकर्तालाई ट्राफिक नियम कडाइका साथ पालना गर्न आग्रह गर्दै यसले व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सहयोग गर्ने बताए ।
आन्दोलनका क्रममा कार्यालयभित्र रहेका सामग्री र बाहिर पार्किङमा रहेका सवारी साधन समेत जलेर ध्वस्त भएका छन् । यद्यपि, प्रहरी संगठनले ट्राफिक व्यवस्थापनलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।












