जेनजी आन्दोलनमा मारिएका परिवारको आठबुँदे माग प्रधानमन्त्रीसमक्ष, कार्कीले कारबाहीका लागि तोक दिइन्
काठमाडौँ।जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरूका परिवारले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आठबुँदे माग पेस गरेका छन्।
भदौ २९ गते आइतबार पीडित परिवारले बुझाएको मागपत्रमा आन्दोलनका क्रममा मृत्यु भएकालाई राष्ट्रिय सहिद घोषणा गर्ने, ‘जेनजी राष्ट्रिय दिवस’ घोषणा गर्ने, राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र मृतक परिवारलाई ५० लाख क्षतिपूर्ति तथा आजीवन पेन्सनको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
यसैगरी मृतकको शव चक्रपथ परिक्रमा गरी राष्ट्रिय सम्मानका साथ परिवारलाई हस्तान्तरण गर्नुपर्ने, सैनिक हेलिकोप्टरमार्फत गृहजिल्ला पुर्याउने, काजक्रिया खर्च तत्काल उपलब्ध गराउने, मृतक परिवारलाई रोजगारी, शिक्षा, स्वास्थ्य र भत्तासहित दीर्घकालीन सुरक्षाको व्यवस्था गर्नुपर्ने लगायतका माग पनि समावेश छन्।
पीडित पक्षले गोली हान्न आदेश दिने तथा दमनमा संलग्न अधिकारीलाई तत्काल निलम्बन गरी कानुनी कारबाही गर्नुपर्ने माग पनि अघि सारेका छन्।
प्रधानमन्त्री कार्कीले सोमबार (भदौ ३०) सो मागपत्रलाई आवश्यक कारबाहीका लागि मुख्यसचिवलाई तोक दिएकी छन्।












