काठमाडौंमा चाडपर्व लक्षित उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन
काठमाडौं।सरकारले चाडपर्वको समयमा यात्रुको सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ।
सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव केशवकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो। समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि सहभागी हुनेछन्।
बैठकले उपत्यकाबाट बाहिर जाने सवारीसाधनको प्राविधिक परीक्षण गर्नुपर्ने र आवश्यकताअनुसार यात्रु सहायता कक्ष स्थापना गर्ने निर्णय गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए।
उनका अनुसार यात्रु सहजै गन्तव्यसम्म पुग्न सक्ने गरी यातायात व्यवस्थापनमा नेपाल यातायात व्यवसायी महासंघलगायत सरोकारवालालाई सहकार्य गर्न आग्रह गरिएको छ।
यसबाहेक, आन्दोलनका क्रममा क्षति पुगेका सार्वजनिक सवारीसाधन र कार्यालयहरूको विवरण संकलन गरी उचित क्षतिपूर्तिका लागि प्रक्रिया अघि बढाउने, ट्राफिक प्रहरीलाई आवश्यक सामग्री उपलब्ध गराउने र लुटपाटमा परेका हतियार तथा सामग्री सवारीसाधनमार्फत ओसारपसार हुन नदिन तत्काल सूचना जारी गर्ने निर्णय पनि बैठकले गरेको छ।












