सुशीला कार्कीको मन्त्रिपरिषद्,ओमप्रकाश अर्याल गृह र कानुन मन्त्री, अर्थ रामेश्वर खनाल:कुलमान घिसिङलाई ऊर्जा मन्त्रालय – Sagarmathapana:: Online News Portal

सुशीला कार्कीको मन्त्रिपरिषद्,ओमप्रकाश अर्याल गृह र कानुन मन्त्री, अर्थ रामेश्वर खनाल:कुलमान घिसिङलाई ऊर्जा मन्त्रालय

   २०८२ भाद्र २९ गते  

काठमाडौं।नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् गठनको कामलाई तीव्रता दिएकी छन्। प्रारम्भिक परामर्श र छलफलपछि उनले गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी अधिवक्ता ओमप्रकाश अर्याललाई दिने निर्णय गरेको स्रोतले जनाएको छ।

अर्याल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीको विवादास्पद नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेर चर्चामा आएका थिए। जनहितका मुद्दामा सक्रिय रहेका उनी हाल काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकारसमेत हुन्। कार्कीको प्रधानमन्त्री नियुक्ति प्रक्रियामा उनी निकट सल्लाहकारको भूमिकामा देखिएका थिए।

यसअघि नै कार्कीले पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिसकेकी छिन्।

खनालले केही समयअघि मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रूपमा तत्कालीन केपी शर्मा ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए। उनले अर्थतन्त्रको तत्कालीन संकट र समाधानका उपायबारे ठोस सुझाव दिएका थिए।

त्यस्तै, घिसिङ आफ्नो कार्यकालमा नेपाललाई लोडसेडिङमुक्त बनाएको कारण आमजनतामा लोकप्रिय छन्। तर, केही महिनाअघि ओली सरकारले उनलाई प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

प्रधानमन्त्री कार्कीले यी तीनै व्यक्तिसँग फोनमार्फत प्रारम्भिक कुराकानी गरी, त्यसपछि प्रधानमन्त्री कार्यालयमा बोलाएर अन्तिम छलफल गरेपछि जिम्मेवारी निश्चित गरेकी हुन्।

यसअघि उनले वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरिसकेकी छिन्।

प्रधानमन्त्रीसहित ११ सदस्यसम्म सीमित रहने भनिएको मन्त्रिमण्डलमा अन्य मन्त्रालयको भागबन्डा अझै खुल्न बाँकी छ।

जेन–जी आन्दोलनको दबाबमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि कार्की अन्तरिम सरकारको प्रमुख बनेकी हुन्। उनी नेपालको पहिलो महिला प्रधानमन्त्री हुन्। शपथ लिएलगत्तै प्रतिनिधिसभा विघटन गरिएको छ भने आगामी फागुन २१ गते निर्वाचन हुने घोषणा भइसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै