काठमाडौंमा प्रहरी चौकी जलेपछि सुरक्षा चुनौती,युवाहरु रात्री गस्तीमा सक्रिय – Sagarmathapana:: Online News Portal

काठमाडौंमा प्रहरी चौकी जलेपछि सुरक्षा चुनौती,युवाहरु रात्री गस्तीमा सक्रिय

   २०८२ भाद्र २९ गते  

काठमाडौं।कागेश्वरी मनोहरा नगरपालिका–६, मुलपानीस्थित प्रहरी चौकी जलेपछि आसपास क्षेत्रको सुरक्षा अवस्था असुरक्षित भएको भन्दै स्थानीय युवाहरु रात्री गस्तीमा सक्रिय बनेका छन्।

मनोहरा स्पोर्ट्स युवा क्लबका सदस्यहरुले जेनेरेशन–जेड आन्दोलनको क्रममा प्रहरी चौकीमा आगजनी भएपछि चोरी तथा लुटपाटका घटना बढ्न थालेको बताएका छन्। उनीहरुको भनाइअनुसार भदौ २४ गते रातिदेखि नै केही अज्ञात समूहले असामाजिक गतिविधि गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।

“प्रहरी चौकी नष्ट भएपछि बाटोमा सुरक्षाकर्मीको उपस्थिति कम भयो। त्यसकै फाइदा उठाउँदै केही दिनदेखि चोरी र लुटपाट बढेको छ। हामीले समुदायलाई सुरक्षित राख्न आफ्नै पहलमा गस्ती थालेका छौं,” क्लबका एक सदस्यले भने।

यसैबीच सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै सेनाले समुदायलाई सचेत रहन र अराजक गतिविधि नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको छ। प्रहरी प्रशासनले पनि दोषी पहिचान गर्ने कार्यलाई अगाडि बढाएको र आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

स्थानीय व्यापारी र बासिन्दाहरुलाई शंकास्पद गतिविधि देखिए तुरुन्त प्रहरीलाई जानकारी दिन आग्रह गरिएको छ। युवा क्लबका टोलीहरूले पनि समुदायसँग मिलेर गस्ती गर्ने र संवेदनशील क्षेत्रमा सतर्कता बढाउने प्रतिबद्धता जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै