भाटभटेनी सुपरस्टोर:संकटपछि पुनः उठ्ने घोषणा
काठमाडौं-काठमाडौं जेनजी प्रदर्शनको क्रममा सबैभन्दा ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरस्टोरले संकटपछि पनि पुनः मजबुत रूपमा उठ्ने घोषणा गरेको छ।
बिहीबार सार्वजनिक गरिएको भिडिओमार्फत सुपरस्टोरले उपभोक्ता र ग्राहकलाई सम्बोधन गर्दै, कठिनाइका बीच पनि सेवा निरन्तरता दिन प्रतिबद्ध रहेको स्पष्ट पारेको हो। बौद्धस्थित शाखा जलिरहेको दृश्य सेयर गर्दै सुपरस्टोरले भनेको छ, “भत्केको घरलाई उठाउनु छ माथि। टुगेदर, वि विल राइज अगेन।”
जेनजी प्रदर्शनकै क्रममा देशभर रहेका २७ शाखामध्ये १४ वटा शाखा पूर्णरूपमा नष्ट भएका छन्। आगलागीसँगै लुटपाटका घटनाले क्षतिलाई अझ बढाएको सुपरस्टोरले जनाएको छ।
यसअघि भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले पनि आपत्–विपत्तिमा उपभोक्ताको विश्वास नै मुख्य आधार भएको भन्दै “सुपरस्टोर अझ मजबुत भएर पुनः सञ्चालनमा ल्याइनेछ” भनेर प्रतिबद्धता जनाएका थिए।
उपभोक्ता संरक्षणकर्मीहरूले भने व्यवसाय निरन्तरतासँगै क्षतिको वास्तविक तथ्याङ्क पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।













