ओलीविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी – Sagarmathapana:: Online News Portal

ओलीविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी

   २०८२ भाद्र २८ गते  

काठमाडौं-जेनजी पुस्तकाका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपसहित निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दर्ता भएको छ।

पूर्वप्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस सांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा जाहेरी दिएका हुन्।

जाहेरीमा ओलीकै आदेशमा गोली प्रहार भएको दाबी गरिएको छ। सो घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरै घाइते भएको उल्लेख छ।

मृतकहरूमा सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम उल्लेख गरिएको छ।

जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ। साथै शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेस गर्नुपर्ने मागसमेत गरिएको छ।

प्रमुख जिल्ला अधिकारी तामाङले जाहेरीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइने जानकारी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै