काठमाडौं नयाँ बसपार्कबाट यात्रुबाहक बस सञ्चालन सुरु
काठमाडौं-काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कबाट लामो दूरीका यात्रुबाहक बसहरू आजदेखि सञ्चालनमा आउन थालेका छन्।
‘जेनजी’ आन्दोलनका कारण भदौ २३ र २४ गते लगाइएको निषेधाज्ञा र कफ्र्युका कारण ठप्प रहेका सार्वजनिक सवारीसाधन फेरि क्रमशः सञ्चालनमा आएका हुन्।
लोत्से बहुउद्देश्यीय प्रालिका मानवसंशाधन प्रमुख पङ्कज मल्लका अनुसार आज बिहान ७ बजेदेखि १० बजेसम्म मात्र उपत्यकाबाट बाहिर जाने दर्जनौँ बस प्रस्थान गरेका छन्।
यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विषम परिस्थितिमा बस सञ्चालन नगर्न मातहतका संघसंस्थालाई निर्देशन दिएको थियो। तर अहिले बसहरू व्यवसायीहरूको पहलमा आफैँ संचालनमा आएका हुन्।
महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सुरक्षा निकाय र मन्त्रालयसँग समन्वय गरेर आगामी दिनमा व्यवस्थित रूपमा सवारी सञ्चालन गर्ने तयारी भइरहेको बताए।












