जनमत पार्टीका पाँच सांसदको सामूहिक राजीनामा,सीके राउतको निर्णयपछि थप संकट
काठमाडौं-जारी जेनजी पुस्ताको आन्दोलन र मुलुकको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै जनमत पार्टीका पाँच जना संघीय सांसदले सामूहिक रूपमा प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन्।
राजीनामा दिने सांसदहरूमा अब्दुल खान, अनिता देवी साह, बिनिता सिंह दनुवार, गोमा लाभ सापकोटा र सोनु मुर्मु रहेका छन्।
सभामुखलाई बुझाइएको सामूहिक राजीनामा पत्रमा सांसदहरूले लेखेका छन्, “देशको वर्तमान आन्दोलन र अवस्थालाई नौलो गणतन्त्रले मात्र सम्बोधन गर्न सक्छ भन्ने हाम्रो दृढ विश्वास हो। त्यसैले हामीले प्रतिनिधि सभाको सदस्य पद त्यागेका हौं।”
पार्टीकी प्रमुख सचेतक अनिता देवीले भनेकी छन्, “हामी सधैं जनतासँगै उभिएका छौं। ममाथि आस्था र विश्वास राख्ने सम्पूर्ण जनतालाई धन्यवाद दिन चाहन्छु।”
यसअघि नै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा सांसद डा. सीके राउतले पनि मंगलबार प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिइसकेका थिए। पार्टीले आन्दोलनरत युवाहरूको मागलाई निरन्तर समर्थन गर्दै सरकारको कदमप्रति असन्तोष जनाउँदै आएको छ।
यो सामूहिक राजीनामासँगै संसदमा जनमत पार्टीको उपस्थिति झन् कमजोर बनेको छ भने देशको राजनीतिक भविष्यबारे नयाँ बहस सुरु हुने संकेत देखिएको छ।












