सर्वोच्च अदालतसँगै जले ६० हजार मुद्दाका फाइल, अभिलेख बचाउन अपिल
काठमाडौं-सर्वोच्च अदालतमा मंगलबार प्रदर्शनकारीहरूले आगजनी गरेपछि भवन अझैसम्म जलिरहेको छ। बुधबार बिहानसम्म पनि आगो नियन्त्रणमा आउन सकेको छैन र अदालत परिसरबाट बाक्लो धुँवाको मुस्लो छुटिरहेको छ।
बिहानैदेखि कर्मचारीहरू शोकमग्न मुद्रामा अदालत परिसर वरिपरि उभिएका देखिन्थे। उनीहरूले अब दमकलले पनि खासै भूमिका खेल्न नसक्ने अवस्था भएको बताए।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार करिब ६० हजार मुद्दाका फाइल जलेर नष्ट भइसकेका छन्। उनका अनुसार अझै पनि मिसिलहरू जलिरहेका छन्।
कोइरालाले भने, “एनेक्स भवन अझै सुरक्षित छ, त्यहाँ महत्वपूर्ण कागजात र फैसला भइसकेका अभिलेखहरू छन्। सकेसम्म त्यसलाई जोगाउन आवश्यक पहल गर्नुपर्छ।”
चौथो तलामा रहेको सूचना प्रविधि महाशाखामा समेत आगलागीले क्षति पु¥याएको र केही फैसलाहरू नष्ट भएको जानकारी आएको छ।
कर्मचारीहरूले सुरक्षा गर्ने वा आगो नियन्त्रण गर्ने कुनै माध्यम बाँकी नरहेको दाबी गर्दै कम्तिमा एनेक्स भवनको अभिलेख सुरक्षित राख्न अपिल गरेका छन्।












