देशभर निषेधाज्ञा र कर्फ्यु :सेनाको शान्ति–सुरक्षाका लागि अपिल
काठमाडौँ ।देशभर उत्पन्न विषम परिस्थितिलाई नियन्त्रण गर्न सरकारले निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ। नेपाली सेनाले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ र शान्ति–सुरक्षा कायम राख्न सबैलाई सहयोग गर्न आग्रह गरेको छ।
विज्ञप्तिअनुसार, भाद्र २५ गते बेलुकी ५ बजेसम्म निषेधाज्ञा जारी रहनेछ भने त्यसपछि भाद्र २६ गते बिहान ६ बजेसम्म देशभर कर्फ्यु लागू हुनेछ। परिस्थितिको मूल्याङ्कन गरेर थप निर्णय सार्वजनिक गरिने सेनाले जनाएको छ।
सेनाले आन्दोलनको नाममा अराजक समूहले तोडफोड, आगजनी, लुटपाट, हिंसा र बलात्कार प्रयासजस्ता आपराधिक गतिविधि गरिरहेको र यसबाट अझ ठूलो क्षति हुने सम्भावना देखिएकाले कठोर कदम चाल्नुपरेको स्पष्ट पारेको छ।
निषेधाज्ञा र कर्फ्युका बेला अत्यावश्यक सेवा–जस्तै एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधन भने सञ्चालन हुनेछन्। आवश्यक परे नजिकैका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न पनि सेनाले आग्रह गरेको छ।
यस्तै, आन्दोलनको नाममा हुने तोडफोड, आगजनी, लुटपाट वा व्यक्ति तथा सम्पत्तिमाथिको आक्रमणलाई दण्डनीय अपराध ठहरिने र संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने चेतावनी समेत सेनाले दिएको छ।
सेनाले अफवाहमा नलागी आधिकारिक सूचनामै विश्वास गर्न नागरिकलाई अपिल गरेको छ। साथै, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाउन सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएको छ।
नेपाली सेनाले हरेक परिस्थितिमा जनताको सुरक्षा र उद्धारमा सधैं प्रतिबद्ध रहने विश्वास दिलाएको छ।












