राष्ट्रिय कृषक समूह महासंघ,नेपालको १५औं स्थापना दिवस सम्पन्न – Sagarmathapana:: Online News Portal

राष्ट्रिय कृषक समूह महासंघ,नेपालको १५औं स्थापना दिवस सम्पन्न

   २०८२ भाद्र २४ गते  

काठमाडौँ-राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १५औं स्थापना दिवस राजधानी काठमाडौँमा भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि कृषि विभागका महानिर्देशक प्रकाश संजेल, विशेष अतिथि उपमहानिर्देशक ललनकुमार सिंह तथा अन्य सम्मानित व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनाएको थियो।

समारोहमा सल्लाहकार तथा संस्थापक अध्यक्ष सामुदायिक वन उपभोक्ता महासंघ नेपालका उद्धव अधिकारी, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्याल,पारिवारिक निजी वन संघ नेपालकी अध्यक्ष सुशीला खातीवडा, राष्ट्रिय सिंचाई जल उपभोक्ता महासंघ नेपाल अध्यक्ष शम्भु दुलाल, लगायतका विशिष्ट अतिथिहरूको समेत सहभागिता रहेको थियो।

महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश संजेलले कृषकको हितमा कृषि विभाग तथा मन्त्रालयबाट पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। साथै, महासंघका प्रतिनिधिहरूले आपसी विवादभन्दा बाहिर निस्केर सहकार्य र समन्वयमा जोड दिँदै, सम्बन्धित निकायहरूमाथि दबाब सिर्जना गर्नुपर्ने सुझाव प्रस्तुत गरे।



कार्यक्रममा स्वागत मन्तव्य, माला अर्पण, राष्ट्रिय गीत, उद्घाटन सत्र र संस्थागत प्रस्तुति लगायतका प्रमुख समयतालिका समावेश गरिएको थियो। महासंघका पदाधिकारीहरूले सबै सहकार्य निकायसँग मिलेर संगठनलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता जनाएका छन्।

कार्यक्रम सञ्चालन महासंघकी सचिव लक्ष्मी भण्डारीले गरेकी थिइन्।

यसरी सम्पन्न १५औं स्थापना दिवसले कृषक समूहबीच एकता, सहकार्य र संस्थागत सुदृढीकरणको सन्देश प्रवाह गरेको विश्वास व्यक्त गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै